रमणीय श्रीअन्तु डाँडा !


टुरिजम पाना संवाददाता इलाम । १३ मंसिर २०८०

पूर्वी क्षेत्रको पर्यटकीय गन्तव्य इलामको सूर्योदय नगरपालिका-५ मा रहेको श्रीअन्तु डाँडा दिनप्रतिदिन चर्चित बन्दै छ । श्रीअन्तु फिक्कल बजारबाट १३ किलोमिटर टाढा पर्छ ।

श्रीअन्तु डाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । यो समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा अवस्थित छ। यो इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिका अन्तर्गत पर्दछ । श्रीअन्तु डाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ।

इलामको व्यावसायिक र नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ। वि.सं. २०४३ मा यसलाई दिपेन्द्र शिखर भनी नामकरण गरिएको भए पनि पुरानै नाम श्रीअन्तु वा अन्तु डाँडा नामबाट नै यो डाँडा प्रसिद्ध छ।

इलामको यो श्री अन्तु धेरै कुराहरूले प्रख्यात छ । जहाँ स्वदेश तथा विदेशीबाट पर्यटकहरू अवलोकन गर्न पुग्छन्।

स–साना चिटिक्क परेका चिया बगान, चिया बगान भित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख र बिहानै उठेर हेर्ने सूर्योदय र सूर्यास्त श्री अन्तुका प्रमुख विशेषताहरू हुन् ।

बिशेषगरी गर्मी याममा प्रयर्यटकहरू श्रीअन्तु पुग्ने गर्दछन् । चिसो हावा पानीका कारण गर्मी छल्न पूर्वी नेपालको तराई क्षेत्र, भारत लगायत अन्य देशबाट समेत पर्यटकहरू आउने गर्दछन् । नेपालको पर्यटन विकासमा इलामको श्रीअन्तुले पनि ठूलो योगदान दिँदै आएको छ ।

 

१३ मंसिर २०८०