त्रिशूलीमा नदीमा बनाएको बाटो रोक्न शहिद लखन गाउँपालिकाको निर्देशन


टुरिजम पाना काठमाडौं । २८ फाल्गुन २०७९

गोरखाको शहिद लखन गाउँपालिकाले त्रिशूली नदीको बहाब रोक्ने गरी बनाइएको बाटो तत्काल रोक्न निर्देशन दिएको छ।

त्रिशूली नदीको बहाब अवरोध हुने गरी बनाइएको सडक निर्माण तत्काल रोक्न गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले निर्देशन दिएका हुन्। शहिद लखन गाउँपालिका वडा नम्बर ४ ठेउवाटारघाट करन बगरस्थित त्रिशूली नदीबाट नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन गर्न श्री त्रियुग निर्माण सेवा सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता भएको थियो।

वातावरणमा असर नपर्ने गरी ६ हजार घनमिटर मात्रै ढुंगा, गिटी र बालुवा उत्खनन् गर्न पाउने सम्झौता गरिएको अध्यक्ष मगरले बताए। उक्त कम्पनीले निर्माण सामग्री उत्खनन गरेर सप्लाईका लागि त्रिशूली नदीको बहाब अवरोध हुने गरी बाटो निर्माण गर्न लागेको कार्य तत्काल रोक्न तथा उत्खनन, संकलन तथा बिक्रीसम्बन्धी कार्य सम्झौताको शर्त अधिनमा रही गर्न पत्रमार्फत कम्पनीलाई निर्देशन दिइसकिएको अध्यक्ष मगरले जनाए ।

यसअघि ढुंगा, बालुवा र गिटी ठेकेदारले त्रिशूली नदी नै थुनेर बाटो बनाएर दोहन गरेपछि पर्यटन सम्बद्ध बिभिन्न संघसंस्थाले त्यसको विरोध गरेका थिए ।

त्रिशूली नदी नै थुनेर दोहन, जल पर्यटनमा गम्भीर असर परेको भन्दै आपत्ती

२८ फाल्गुन २०७९