अक्षताको टीकाको शुरूवात पृथ्वीनारायण शाहबाट

खानुपर्ने अन्न (चामल) मुछेर टीका बनाउनुको कुनै विशेष आधार भेटिदैन


सुनिल उलक पोखरा । २० आश्विन २०७९
dashain
प्रतिकात्मक तस्वीर
आखिर विजया दशमी शब्दले नै एउटा अर्थ दिन्छ यस दिन विजय भएको हुँदा विजया दशमी भनिएको हो ।

आखिर विजय कसले, कहाँ र कोसंग गरे भन्नेमा भने बिभिन्न आख्यानहरू प्रचलित छन् ।
महिषासुर नाम गरेका राक्षसलाई दुर्गाले विजय गरेको एउटा आख्यान छ भने अर्को रामले रावण माथि विजय अभियान यसै दिन गरेको आख्यान पनि प्रचलित छ ।
यी दुई आख्यान पुराण र रामायणका कथा हुन् । तर तेस्रो इतिहासमा उल्लेख भएको भनिएको भने पृथ्वीनारायण शाहको विजय अभियान हो ।
बि.सं. १८०० मा नुवाकोट आक्रमणको प्रयास विफल भएपछि १८०१ को आश्विन शुक्ल दशमीको दिन आमाको हातबाट अक्षताको टीका र आशिष् बोकेर नुवाकोट आक्रमण गरि विजय प्राप्त भएको हुँदा आश्विन शुक्ल दशमीको दिन आशिष् सहित अक्षताको टीका लगाउने चलनको शुरूवात भएको पनि भनिन्छ ।
यसर्थ अक्षताको टीकाको शुरूवात पृथ्वीनारायण शाहबाट नै भएको भन्ने आधार भेटिन्छ ।
अक्षताको टीका केवल नेपालको हिन्दुहरूले मात्र लगाउने हुँदा पनि शास्त्रमा अक्षताको टीका लगाउने उल्लेख नभएको जिकिर गर्न सकिन्छ ।
यदि शास्त्रमा उल्लेख गरिएको हुँदो हो त भारतीय हिन्दुहरूले पनि अक्षताको टीका लगाउनु पर्ने थियो ।
चन्दनको टीका लगाउने प्रचलन भारतीय हिन्दुहरूमा भेटिनु तर नेपालको हिन्दुहरूले भने खानुपर्ने अन्न चामलमा मुछेर टीका बनाउनुको कुनै विशेष आधार भेटिदैन ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानसँगै हारेका राज्यका जनताहरूलाई पृथ्वीनारायण शाहले नियुक्त गरेका वडाहाकिम सुब्बा वा उच्चपदस्थहरूलाई दर्शन गर्न जानुपर्ने नियम बनाए ।
जसले पृथ्वीनारायणका रैतीहरू हुन् भन्ने सावित गराउन चाहन्थे ।
पूर्वमा किराँत राज्य विजय गरेपछि बि.सं. १८३१ मा सम्झौता गरि सुवांगी प्रथाको शुरूवात गरेका थिए । जस अनुसार लिम्बुहरूलाई सुवांगी पद दिए जसले गर्दा सुब्बा भए ।
खम्बुलाई किपट उठाउने जिम्मा दिइ राई भए । सुनुवारहरूले मुखिया पद पाए । याक्खाहरूलाई देवान पद दिए । यसरी पाएको पद नै पछि थर कायम भयो ।
यसरी सुवांगी प्रथाको शुरूवात सँगै रैतीहरूले दशमीको दिन कोसेली बोकेर सुवांगीसँग आशीर्वाद लिन जानुपर्ने नियम बनाए । यहि नियम नै अहिले ठूलाबडा कहाँ टीका थाप्न जाने प्रथा बन्यो ।

टीकामा अक्षताको उपयोग

आखिर चामलको उपयोग नै किन ? केही वर्ष अगाडी एउटा तथ्य सामुन्ने आएको थियो । त्यहि तथ्यलाई नै आज पनि स्विकार गर्ने हो भने दशैको टीकाको दिन नेपालीहरूले ४३ लाख माना चामल टीका लगाएर फाल्ने गर्दा रहेछौँ ।
यो तथ्यलाई हेर्दा करीब १७ हजार २०० क्विन्टल चामल हुन आउँछ ।
एक नेपालीले वर्षमा ११० किलोग्राम चामलको भात खाने विश्व खाद्य संगठनको तथ्यलाई केलाउँदा हामीले एक दिन टीका लगाएर करीब १५ हजार ६३६ नेपालीलाई एक वर्ष पुग्ने चामल एकैदिनमा टीका लगाएर फ्याक्ने गर्दारहेछौँ ।
के हामीले अक्षताबिनाको टीका मात्र लगाउने अभियान चलाउन सक्दैनौ र !!!

टीका लगाइदिँदा पुरुष भएमा यस किसिमको आशीष् दिने गरिन्छ ।
आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्त नभे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
अष्टचिरन्जिवी मध्यका द्रोणको जस्तो आयू होस्, दशरथको जस्तो किर्ती होस्, नहुष राजाको जस्तो धनसम्पती होस्, पवनको जस्तो गति होस, दूर्योधनको जस्तो मानसम्मान होस, आकाश जस्तो शान्त होस, बलरामको जस्तो बल होस, युधिस्ठिर जस्तो सत्यवादी होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् ।
यति लामो श्लोकमा निरोगी रहोस भन्ने नै छैन । जबसम्म मानिस निरोगी हुँदैन, संसारको सबै चिज आफूसँग रहे पनि खास महत्व हुँदैन ।
तसर्थ यति लामो श्लोक भन्दा छोटो शुस्वास्थ्य र धनधान्य होस् भन्नु सहज हुन्छ । किनकी सबैभन्दा महत्वपूर्ण नै शुस्वास्थ्य हो ।
यता महिलाहरूलाई भने अर्कै श्लोकमा टीका लगाइ आशीष् दिने गरिन्छ ।
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोकस्तुते ।।

दुर्गा सप्तशतीमा रहेको यो श्लोक वास्तवमा देवी दुर्गाको स्तुति हो । देवी दुर्गालाई ११ किसिमले वर्णन गरिएको छ ।
सँधै जीत हुने, मंगल हुने, काललाई पनि जीत्ने, जन्म र मृत्यु बीचको, नरमुंडको माला लगाउने, दु:खको नाश गर्ने, सबैलाई क्षमा दिन सक्ने, सदा शुभ सोच्ने, सबैलाई पालन गर्ने, सबैलाई स्वाहा भनेर चढाएको दुर्गालाई नै प्राप्त हुने, पितृलाई चढाएको पनि अन्तमा ग्रहण गर्ने ।
अब यो श्लोकले महिलालाई कसरी आशीष् हुन सक्ला ।
समग्रमा महिलालाई के दुर्गा जस्तै होस भन्न खोजिएको हो त ! यदि त्यसो हो भने यो श्लोक अधुरै रहेको छ ।
यसमा केही थप्न पर्छ । अन्यथा शुस्वास्थ्य होस् र घर धान्न सक्ने होस् भनियो भने छोटोमा नै पूर्ण हुन्छ ।

 

२० आश्विन २०७९