पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ ल्याउँदै


टुरिजम पाना काठमाडौं । १७ कार्तिक २०७९

पर्यटन प्रवद्र्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् ।

नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोेपार्जन पुनःरुत्थान परियोजनासँगको सहकार्यमा सुरु भएको चार दिने ‘टुर प्रोडक्ट डेभलपमेन्ट र टिकेटिङ’ तालिम आयोजना गरेर सो घोषणा गरेका हुन् ।

नाट्टाका केन्द्रीय सचिव युविका भण्डारीले पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न तालिम फलदायी हुने उल्लेख गर्दै कोभिड–१९ पछि पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति पलायनको अवस्थाले अभाव बढेको बताए । उनले त्यही अभाव न्यूनीकरणका लागि नेपाल पर्यटन बोर्डको योजनामा मुलुकका विभिन्न ठाउँमा यस्ता तालिम चलाउन थालिएको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पर्यटननै मुलुकको अर्थतन्त्रका लागि बलियो र स्थायी आधार बन्न सक्ने धारणा व्यक्त गरे । उनले देशको अर्थतन्त्र सवलीकरणमा निजी क्षेत्रको भूमिका रहेको उल्लेख गर्दै तीन प्रदेशका पर्यटन व्यवसायीले तालिमपछि बनाउने टुर प्याकेजमा एकरुपता आउने बताए ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पश्चिम नेपालमै पहिलोपटक आयोजना गरिएको तालिमले व्यवसायीलाई भ्रमण प्याकेज बनाउन गन्तव्य पहिचानदेखि विश्वभरका गन्तव्यमा जाने पर्यटकका लागि आवश्यक टिकट व्यवस्थापन गर्नसक्ने उल्लेख गरे । तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० टुर अपरेटर सहभागी छन् ।

१७ कार्तिक २०७९