अब विद्युतीय माध्यमबाट पर्यटन इजाजत सेवा


टुरिजम पाना काठमाडौं । १२ पुष २०७९

बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय उपत्यका पर्यटन कार्यालयले विद्युतीय माध्यमबाट पर्यटकीय इजाजत सेवा शुभारम्भ गरेको छ ।

कार्यक्रमको सुरुआत गर्दै मन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीलाई सेवा सुविधा दिन विद्युतीय माध्यमबाट इजाजत सेवा शुभारम्भ गरिएको बताए । मन्त्रालयले पर्यटन क्षेत्रको बृहत्तर हितलाई ध्यानमा राखी सेवाग्रहीलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गरिने भनाइ उनले राखे । यो सेवा नेपालमै पहिलो भएको पनि उनले बताए ।

यो सेवाको सुरुआतसँगै बिचौलियाले पैसा खान नपाउने भएका छन् । सेवाग्राही अब ललितपुरको हात्तीवनसम्म पनि पुग्नु नपर्ने जनाइएको छ । यो सेवा सुरु गरेसँगै पर्यटन व्यवसायसँग सबैलाई सहज भएको मन्त्री श्रेष्ठले बताए । सुशासनमा पनि यो सेवा प्रभावकारी हुने उनको भनाइ थियो । यो सेवाको माग पर्यटन व्यवसायीले पाँच वर्षदेखि गर्दै आएका थिए ।

कार्यक्रममा मन्त्रालयका सचिव मदन कोइराला, कार्यालयका प्रमुख नेत्र भट्टराई लगायतले विद्युतीय सेवाको शुभारम्भसँगै प्रदेशअन्तर्गतका १३ जिल्लाका पर्यटन व्यवसायी व्यवसाय दर्ता, नवीकरणलगायत सेवा लिने काम अब विद्युतीय माध्यमबाट नै गर्न सकिने भएकाले सहज भएको बताएका थिए ।

१२ पुष २०७९