पर्यटन प्रवर्द्धनका लागि ‘व्यास नगर म्याराथन’


टुरिजम पाना व्यास । २१ फाल्गुन २०७९
damauli tanahun

धार्मिक र ऐतिहासिक क्षेत्र जोड्न र पर्यटन प्रवर्द्धनका लागि तनहुँको व्यास नगरपालिकाले तेस्रो व्यास नगर म्याराथनको आयोजना गरेको छ ।

यही फागुन २४ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला हाफ खुल्ला म्याराथन हुन लागेको हो । व्यास नगरपालिका ३ स्थित धार्मिक क्षेत्र व्यास गुफादेखि व्यास ११ ऐतिहासिकस्थल तनहुँसूरसम्मको २१ किलोमिटर दुरीमा दौड प्रतियोगिताको आयोजना गरेको व्यासका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न व्यास नगरपालिकाले व्यास गुफादेखि तनहुँसुर सम्मको २१ किलोमिटर दुरीको हाफ म्याराथन प्रतियोगिताको आयोजना गरेको हो । चारवेद १८ पुराणका रचायित्व व्यास ऋषिको तपोभूमिको रुपमा व्यास गुफा क्षेत्र परिचित छ ।

त्यसैगरी तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसरमा राज्य सञ्चालन गरेको इतिहास छ ।

उक्त दुई स्थानलाई जोड्दै आन्तरिक एवं वाह्य पर्यटक प्रवर्द्धन गरी आर्थिकरुपमा सबल बनाउने लक्ष्यका साथ बिगत तीन वर्षदेखि म्याराथन हुँदै आएको छ । उक्त स्थानमा अझै पनि तत्कालीन अवस्थामा प्रयोग गरिएका तोप लगायतका हातहतियार र सेनवंशीय राजदरबार जीर्ण भएर भत्किएको अवस्थामा छन् ।

व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा तेस्रो महिला हाफ म्याराथन सम्पन्न गर्न आयोजक समिति गठन गरेर प्रक्रियाअघि बढाइएको नगरपालिकाले जनाएको छ । व्यास गुफादेखि सफा सडक हुँदे तालघरे, मुसेखोला, घाँसीकुवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबारसम्म पुगेर म्याराथनको सम्पन्न हुनेछ ।

प्रतियोगितामा प्रथम हुने धावकले रु ४१ हजार ७९, द्वितीय हुनेले रु ३१ हजार ७९ र तृतीय हुने धावकले रु २१ हजार ७९ छ । त्यसैगरी सान्त्वाना पुरस्कार तीन जनालाई रु ११ हजार ७९ का दरले पुरस्कार तथा सहित मेडल र ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

२१ फाल्गुन २०७९