बन्दिपुर सफा गर्ने अभियानः पालिकाको टुँडिखेल र बसपार्कमा सार्वजनिक शौचालय


टुरिजम पाना काठमाडौं । २१ माघ २०७९

बन्दिपुरको टुँडिखेलमा निर्माणाधिन सार्वजनिक शौचालय आगामी सातादेखि सञ्चालनमा आउने भएको छ ।

बन्दिपुर गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको सार्वजनिक शौचालय सञ्चालनमा आउने तयारीमा रहेको हो ।

पर्यटकीय क्षेत्र बन्दिपुरलाई सफा बनाउने अभियान अन्तर्गत शौचालय व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले टुरिजम पानालाई जानकारी दिए ।

उनका अनुसार, पालिकाले सो शौचालय पुननिर्माणका लागि २ लाख रुपैयाँ बजेट सहयोग गरेको छ । सो शौचालय सञ्चालनमा आएपछि टुँडिखेलमा घुम्न जाने पर्यटकहरूलाई समेत सहज हुने उनको भनाइ छ ।

उनका अनुसार, अहिले पालिकाले बजार सफा राख्नका लागि अभियान नै सञ्चालन गरेको छ ।

जसअन्तर्गत बन्दिपुर बसपार्क एरियामा पनि पूरानो शौचालयलाई मर्मत सम्भार गरि सञ्चालनमा ल्याइएको छ । जसका लागि पालिकाले करिब एक लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको पालिका अध्यक्ष थापाले बताए ।

उनका अनुसार, सो शौचालय २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । बजारलाई सफा र व्यवस्थित राख्नका लागि आवश्यक ठाउँमा शौचालय बनाउन सडक छेउका होटलहरूलाई पनि भनिएको अध्यक्ष थापाले जानकारी दिए ।

उनका अनुसार, पालिकाले भानु चोकमा पनि सार्वजनिक शौचालय बनाउने योजना बनाएको छ । सार्वजनिक शौचालयको व्यवस्थापनपछि बजार क्षेत्र सफा रहेको थापा बताउँछन् ।

२१ माघ २०७९